Skip to content

नविन शाक्य

  • क्यास पेन

    July 5, 2026

    युट्युब वा लिंक्डइनका धेरै इन्फ्लुएन्सरहरूले नगद प्रयोग गर्न र डिजिटल भुक्तानीबाट टाढा रहन सुझाव दिइरहेका हुन्छन्। उनीहरूको तर्क छ कि नगद तिर्दा हाम्रो दिमागले खर्चको पीडा महसुस गर्छ जसले गर्दा अनावश्यक खर्च घटाउन मद्दत गर्छ।

    जिज्ञासावश मैले पनि यो विधि केही साता अघि देखि अपनाएँ तर मेरो अनुभवमा भने खासै केही फरक परेन। नगद दिऊँ वा QR स्क्यान गरूँ तिर्नुपर्ने रकम त उही नै हो। आवश्यक सामान किन्दा भुक्तानीको माध्यमले आर्थिक अनुशासन आफैं परिवर्तन गर्दैन रहेछ।

    नेपालमा त डिजिटल भुक्तानी झन् व्यावहारिक छ। हाल देशको अधिकांश ठाउँमा मोबाइल नेटवर्क पुगेको छ जसले गर्दा ग्रामीण क्षेत्रका बजारमा पनि धेरै पसलेहरूले डिजिटल भुक्तानी नै रुचाउँछन्। नगद बोक्ने, खुल्ला पैसा नपाउने, एटीएम वा बैंक धाउनुपर्ने झन्झट पनि हुँदैन। हिजो मात्र भाटभटेनी सुपरमार्केटमा अहिले राष्ट्र बैंकले सिक्का साटने सुविधा नदिएको र फिर्ता रकम दिन असहज भएकोले नगदको सत्ता कार्ड अथवा डिजिटल भुक्तानीको अनुरोध देखें।

    सायद इन्फ्लुएन्सरहरूको सुझाव धेरै खर्च गर्ने र बेहिसाब किनमेल गर्ने मानिसहरूका लागि उपयोगी होलान्। सायद म भने त्यो समूहमा पर्दिनँ। बरु मेरो लागि डिजिटल पेमेन्ट झन् प्रभावकारी भएको छ। म कार्ड प्रयोग गर्छु तर धेरै पसलेहरूले पोस मेसिनमा लाग्ने शुल्कका कारण कार्डबाट हुने पेमेन्ट स्वीकार्दैनन्। त्यसैले मेरो किनमेल गर्ने ठाउँ नै सीमित भएको छ र प्रायः साताको अन्तमा मात्र किनमेलको लागि पुग्छु र यही सीमाले मेरो खर्च कुनै पनि “क्यास पेन” भन्दा राम्रो सँग नियन्त्रण भएको छ।

    मेरो अनुभवमा बजेट बचाउने सबै भन्दा प्रभावकारी उपाय भनेको खर्च गर्न मिल्ने ठाउँ नै कम गर्नु हो।


  • पहाडी हवाई यात्रा

    July 2, 2026

    पर्यटन मन्त्रीले हालै पहाडी विमानस्थलहरूमा उडान घट्नुको कारण पर्याप्त यात्रु नभएको बताएका छन्। उहाँको भनाइ पूर्ण रूपमा गलत भने होइन तर यसले समस्याको धेरै ठूलो पक्षलाई बेवास्ता गर्छ। आम नागरिकलाई दोष दिन सजिलो छ तर वास्तविक समस्यालाई स्वीकार्नु त्यति सजिलो छैन।

    मानिसहरू जोखिमपूर्ण पहाडी राजमार्गमा घण्टौँ, कहिलेकाहीँ दिनौँसम्म यात्रा गर्न रुचाउँछन् भन्ने होइन। उनीहरू त्यसो गर्न बाध्य छन् किनभने हवाई टिकट अत्यन्त महँगो छ, उडान तालिका भरपर्दो छैन र आवश्यक परेको बेला टिकट वा उडान नै उपलब्ध हुँदैन।

    यदि मन्त्रीले सरकारले सञ्चालन गर्ने वायुसेवासँग STOL (छोटो दूरीमा उडान तथा अवतरण गर्न सक्ने) विमानस्थलमा उड्न मिल्ने केवल दुईवटा विमान छन् र तीमध्ये एउटा मात्र सञ्चालन योग्य अवस्थामा छ भन्ने स्वीकार्नु भयो भने त्यसको जवाफ पनि दिनुपर्छ। यदि उहाँले यस्ता विमान सञ्चालन गर्ने निजी वायुसेवा पनि दुई–तीनवटामा सीमित छन् र उनीहरूले प्रायः एभरेस्ट जस्ता बढी आम्दानी हुने रुटलाई प्राथमिकता दिन्छन् भन्नुभयो भने अझ धेरै प्रश्न उठ्नेछन्। र यदि उहाँले सामान्य यात्रुले टिकट पाउनै मुस्किल हुने किनभने धेरै सिट पहुँच र चिनजानका आधारमा बाँडिने गरेको यथार्थ स्वीकार्नु भयो भने बहसको दिशा नै बदलिनेछ।

    म मुगु जिल्लामा रहेको एक जलविद्युत् आयोजनामा काम गर्छु। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगु करिब २८० किलोमिटर मात्र टाढा छ। यो दूरी सडकमार्गबाट पार गर्न दुई दिन लाग्छ, त्यो पनि निकै कठिन र असहज यात्रा पछि। सरकारी वायुसेवाले हप्तामा एकपटक मात्र यहाँ उडान गर्छ र त्यो पनि मौसमको कारण देखाएर पटक–पटक रद्द हुन्छ। यस्तो अवस्थामा मानिसहरूले भर पर्न नसकिने हवाई सेवामा किन विश्वास गर्ने?

    मुगु जस्ता दुर्गम जिल्लाका लागि नियमित र भरपर्दो हवाई सेवा कुनै विलासिता होइन, लाइफलाइन हो जहाँ आपतकालीन स्वास्थ्य सेवा समेत सहज उपलब्ध छैन। समयमै हुने एउटा उडानले जीवन र मृत्यु बीचको फरक समेत बनाउन सक्छ।

    त्यसैले “यात्रु पुगेन” भन्ने निष्कर्षमा पुग्नु अघि एउटा प्रश्न सोध्नु आवश्यक छ – के हामीले वास्तवमै आम मानिसले विश्वास गर्न सक्ने हवाई सेवा प्रदान गरेका छौँ?


  • सार्वजनिक यातायात

    July 1, 2026

    सार्वजनिक यातायातको विषयमा धेरै बहसहरू सुनिन्छ। केही समयअघि अनुभवको लागि आफ्नो दुई पांग्रे घरमै छोडेर बसमा अफिस जाने निर्णय गरेँ। घर र अफिस जम्मा ७ किमि टाढा छन् र  सहरकै राम्रो मध्येको सडकले जोडिएका।

    सोचेको थिएँ बढीमा ३५-४० मिनेट लाग्ला तर वास्तविकता फरक रहेछ। खचाखच भरिएको मिनी-बसमा उभिने ठाउँ समेत थिएन। प्रत्येक स्टपमा लामो पर्खाइ, थप यात्रु कोच्ने हतार, सहचालकको रुखो बोली, लापरवाह गाडी चलाउनु सार्है मन परेन। अन्ततः ७ किमिको यात्रा पूरा गर्न ९० मिनेटभन्दा बढी लाग्यो।

    त्यसपछि बुझें सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ भन्न सजिलो छ, दैनिक रूपमा त्यसमै निर्भर हुनु अर्कै स्तरको मानसिक तनाव हो। काठमाडौं धेरै बदलिसकेको छ, सार्वजनिक यातायात प्रणाली सायद दशक अघि देखि उस्तै छ।

    काठमाडौंमा रोजगार गर्नेलाई समय नै सबैभन्दा ठूलो सम्पत्ति हो। दिनको धेरै समय अव्यवस्थित यातायातमा गुमाउनु भन्दा सक्नेले आफ्नै भरपर्दो साधनको व्यवस्था गर्नु खराब निर्णय होइन।

    सार्वजनिक यातायात सुधारिनु पर्छ, त्यसमा दुईमत छैन तर त्यो नहुँदासम्म मानिसहरूले आफ्नो समय र पीस अफ माइन्डको पनि मूल्य बुझ्नुपर्छ।


  • ट्राफिक नियम र जरिवाना

    June 30, 2026

    ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि निकै कडा जरिवानाको प्रस्ताव गरेको छ। सोहि अवस्थामा स्वीकृत भए केही जरिवाना त देशको न्यूनतम मासिक ज्याला भन्दा पनि बढी हुन सक्छ।

    यस विषयमा इन्टरनेट विभाजित छ। धेरैले भन्छन्, “नियम पालना गरे डराउनु पर्दैन“। नेपालमा सडक दुर्घटनाको तथ्यांक भयावह हुनु र त्यसको ठूलो कारण सामान्य ट्राफिक नियमको बेवास्ता हुनु पनि सत्य हो। तर समस्या त्यतिमै सकिँदैन। नियम पालना गर्ने व्यक्ति पनि गलत आरोप, पहिचानमा त्रुटि वा कमजोर प्रमाणका कारण कारबाहीमा पर्न सक्छ। “नियम पालना गरे पुग्छ” भन्ने तर्कले यस्ता गल्तीलाई समेट्दैन।

    सुरक्षित सडकका लागि कडा जरिवाना मात्रै पर्याप्त हुँदैन। राम्रो सडक पूर्वाधार, निष्पक्ष र प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्तालाई उचित शिक्षा पनि उत्तिकै आवश्यक छ। दण्डहीनता जति हानिकारक छ अत्यधिक सजाय पनि त्यत्तिकै हानिकारक हुन्छ। दुवैले अन्ततः सार्वजनिक प्रणाली प्रतिको विश्वास कमजोर बनाउँछन्।


  • पहिलो डिजिटल विश्वकप

    June 16, 2026

    फिफा विश्वकप नेपालमा सधैँ नै ठुलै उत्सव हुन्छ। दक्षिण अफ्रिकामा आयोजना भएको २०१० को संस्करणको भाइब भने बेग्लै थियो। यो यस्तो विश्वकप थियो जतिबेला हाम्रो खल्तीमा भर्खरै फेसबुक र ट्विटर पुगेको थियो। हुन त त्यति बेलाको प्रविधिको मोबाइल इन्टरनेट एकदमै सुस्त र महँगो थियो तर त्यसैले सबथोक बदलिदियो।

    त्यतिबेला हामी केवल कोठामा मात्र म्याच हेरिरहेका थिएनौं, कोठामै नभएका साथीहरूलाई होच्याई, जिस्क्याई रमाइलो गर्दै थियौं । बैठक कोठामा बसेरै ट्याक्टिस र लाइनअपमा आफ्नो “विशेषज्ञ सुझाव” दिइरहेका हुन्थ्यौं। जर्सी र खाजाका धमिलो फोटोहरू पोस्ट गर्थ्यौं र दुई मिनेटभित्र अपलोड होस् भनेर प्रार्थना गर्थ्यौं। गोल हुँदा टाढा रहेका मानिसहरूसँग पनि रियल टाईममा खुसी साट्न सकिन्थ्यो। आफ्नो बैठक कोठामा एक्लै कराइरहेको भए पनि संसारले आफूले कुन टोलीलाई समर्थन गरिरहेको छ भन्ने थाहा पाएको जस्तो लाग्थ्यो। त्यो अनुभव नयाँ थियो।

    त्यो बेला यो कुनै चमत्कार भन्दा कम लाग्दैनथ्यो। अहिले सम्झिँदा त्यो विश्वकपले नेपालमा फेसबुक र ट्विटरको लोकप्रियतालाई अर्कै उचाइमा पुर्‍याएको थियो। सायद म अतीतलाई रोमान्टिसाइज गर्दैछु। फोटोको क्वालिटी खत्तम थियो, डाटा महँगो थियो तर त्यो बेलाको भाइब एकदमै म्याजिकल थियो।


  • द ट्वाइलाइट जोन 

    June 10, 2026

    सन् १९६० को दशकको अमेरिकी टिभी शो द ट्वाइलाइट जोन (The Twilight Zone) एक नेपालीका रूपमा हेर्दा अनौठो साथसाथै भव्य लाग्छ। त्यसमा देखाएको अमेरिकी सहर/समाज त्यतिबेलै आधुनिक, व्यवस्थित र फ्युचरिस्टिक देखिन्छ। यता त्यही समयमा काठमाडौं भने खुला खेत, परम्परागत बस्ती, गुठी, मन्दिर र समुदायमा आधारित जीवनले भरिएको थियो।

    हामीले पछि शिक्षा, स्वास्थ्य र अरु आधुनिकताको अवसर त पायौँ तर सँगसँगै केही छिमेकीपन, केही साझा जिम्मेवारी र केही समुदायको न्यानोपन पनि गुमायौँ। पश्चिमी समाजले सय वर्षमा भोगेको परिवर्तन नेपालले एक पुस्तामै भोग्यौं।

    आधुनिकता समस्या होइन तर आधुनिक मात्र राम्रो भन्ने सोच समस्या हुन सक्छ।

    प्रगतिको दौडमा हामीले के गुमायौँ र अझै के फिर्ता ल्याउन सक्छौँ, सायद आज हामीले आफैँलाई सोध्नुपर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो।


  • राजमार्गको दृश्यहरू

    June 9, 2026

    अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्ड एक्सप्रेसवे जस्तै देखिन्छ, तर सायद हैन। किनभने हरेक दिन जुनसुकै समयमा तपाई त्यो सडक प्रयोग गर्नुहोस् तपाई देख्नुहुनेछ सामानले भरिएका ठेलागाडा धकेलिरहेका मानिसहरू, मालसामान बोकेका साइकलहरू, जथाभावी सडक काट्ने पैदल यात्रीहरू, कुदिरहेको मोटरसाइकलमा एउटा हातमा मोबाइलमा कुरा गर्दै गरेका चटकी डेरडेभिलहरू र सार्वजनिक बसहरू आफूलाई जहाँ मन लाग्यो त्यहीँ रोकेको ।

    यी मध्ये कुनै पनि कुरा सुरक्षित होइन र यी मध्ये कुनै पनि मुख्य सडकमा हुनुपर्ने होइन। त्यसका लागि दुवै किनारामा सर्भिस लेन बनाइएका छन्। तर ती सर्भिस लेनहरूको अवस्था यति दयनीय छ कि तिनिहरू व्यवहारमा पार्किङ स्थल जस्तै बनेका छन्। सर्भिस लेनका धेरै खण्ड त हालसम्म बनेको छैन। यो सडक बनेको एक दशक भन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै सरकार आए र गए तर सर्भिस लेनहरू उस्तै बेवास्तामा परेका छन्।

    किन यो विषय महत्वपूर्ण छ भने काठमाडौं एउटा प्राइमेट सिटी हो जुन चारै तिर साथसाथै माथि तिर पनि फैलिरहेको छ जसको आफ्नै भौगोलिक र भौगर्भिक सीमितता छ। भविष्यमा काठमाडौं फैलिएर छिमेकी जिल्लाको बनेपा र धुलिखेलसम्म पुग्छ। हुनत यी बजारहरूलाई जोड्ने सडक पूर्वाधार पनि निर्माण हुँदैछ। तर त्यो भविष्य पूर्वाधार तयार भए पनि नभए पनि आउँदैछ।

    उपत्यका केवल यहाँका करिब २० लाख स्थायी बासिन्दाको मात्र घर होइन। विद्यार्थी, आप्रवासी श्रमिक, दैनिक आवतजावत गर्ने यात्रु, पर्यटक, तथा स्वास्थ्य सेवा वा प्रशासनिक कामका लागि आउने मानिसहरूलाई समेत जोड्ने हो भने उपत्यकाको वास्तविक कार्यात्मक जनसंख्या ५० लाखको हाराहारीमा पुग्छ र ती सबै मानिस यस्तै सडकहरूमा निर्भर छन्। यसको लागि पनि यो सडकको उचित व्यवस्थापन आवश्यक छ।  

    ठूला र महत्वाकांक्षी परियोजनाका सपना हामी देख्दै गरौला। अहिलेका लागि त हामीलाई केवल यति चाहिएको हो कि बनेको/भएको सडकले साँच्चिकै नै काम गरोस्।


  • खेलभावनाको सम्मान

    June 7, 2026

    केही दिन अघि जब नेपाली महिला क्रिकेट टोलीले एक अन्तर्राष्ट्रिय खेलमा टाइम आउटका कारण भुटानी खेलाडीलाई डिसमिस गर्‍यो, सामाजिक सञ्जाल एक्कासि तात्यो र केही समयमै खेलाडीहरूलाई खलनायक जस्तै चित्रित गर्यो।

    खासमा जब खेलाडीहरूको करियर, करार र देशको नाम नै दाउमा लागेको हुन्छ त्यस्तो अवस्थामा उनीहरूले केवल खेलभावना र विवेकका आधारमा आफैँलाई नियन्त्रण गर्नुपर्छ भन्ने अपेक्षा गर्नु वास्तवमै अव्यावहारिक कुरा हो। हामी दर्शकहरूले घरमा आरामसँग बसेर “खेलभावनाको सम्मान गर” भन्न सक्छौं किनकी हामीले गुमाउनुपर्ने केही हुँदैन तर खेलाडीहरूको अवस्था त्यस्तो हुँदैन।

    कुनै पनि खेलको भावना जोगाउने नैतिक जिम्मेवारी नियम बनाउने निकाय र निर्णायकहरूको हो। खेलाडीको काम भनेको नियमले दिएको सीमाभित्र रहेर जित्ने प्रयास गर्नु हो।

    यस विवादका बीच नेपाल क्रिकेट संघ अगाडि आयो, भुटानी क्रिकेट समक्ष माफी माग्यो, आलोचनाको भार आफैँले वहन गर्‍यो र आफ्ना खेलाडीहरू माथिको दबाब कम गर्‍यो, ठ्याक्कै एउटा खेलकुद संघले गर्नुपर्ने काम यही हो।

    अनि नेपालको ५१ रनको विजय त्यस विवादित क्षणको कारण नभई हामीहरू सो खेलमा स्पष्ट रूपमा उत्कृष्ट टोली थियौँ।


  • बाल्यकालको विश्वकप

    June 4, 2026

    अमेरिकामा १९९४ को फुटबल विश्वकप हुँदा म कक्षा ४ मा पढ्ने १० वर्षको केटो थिएँ।

    रोमारियो, बाज्जियो, माराडोना, क्लिन्समान, स्टोइचकोभ।

    यी नामहरू मैले मेरो बुबा र उहाँका साथीहरू बीचका कुराकानीबाट अनि रेडियो समाचारहरूबाट सुनेको थिएँ। ती नामहरू मेरो मन मस्तिष्कमा सदाका लागि छापिएर बसे। मलाई अझै पनि सम्झना छ त्यो रात खचाखच भरिएको Rose Bowl रंगशालामा भएको फाइनलमा बाज्जियोले पेनाल्टी मिस गरेको दृश्य हेर्न म अबेरसम्म जागा बसेको थिएँ। जब बल बार माथिबाट बाहिर गयो र ब्राजिल च्याम्पियन बन्यो, म इटालीसँगै रोएको थिएँ।

    ३२ वर्ष पछि विश्वकप फेरि अमेरिकामा फर्किंदैछ। अहिले म जीवनको यस्तो चरणमा छु जहाँ समय र ऊर्जा दुवै सीमित बनेका छन्। मलाई थाहा छ कि यस पटक कुराकाओ वा केप भर्ड जस्ता टोलीका खेलहरू हेर्न बिहान तीन बजेसम्म जागा बस्न सक्दिन चाहे ती खेलहरू जति नै ऐतिहासिक किन नहोस्। १९९४ मा मलाई रुवाउने टोली त यस पटक छनौट नै भएन। तर मलाई थाहा छ जब माहोल तात्दै जान्छ र फुटबल साँच्चिकै रोमांचक हुन थाल्छ म राती दालमोठ र कोक बोकेर टिभी अगाडि हुनेछु। सायद आधा निद्रामा, सायद खेलको समय मिलेन भनेर अलिकति झर्किएको अवस्थामा, तर फुटबल हेर्न उपस्थित भने अवश्य हुनेछु।


  • नबुझ्ने मेनु

    May 7, 2026

    गत साता मेरो कार्यालयले एउटा आकर्षक र आधुनिक रेस्टुरेन्टमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेको थियो। यो मेरो कार्यालयको आफ्नो कर्मचारीहरू प्रति उदार र सद्भावपूर्ण पहल थियो।

    म पुगेँ, आफ्नो सिटमा बसेँ र मेनु खोलें। लेखेका शब्दहरू बुझे पनि मेनुको परिकार मैले बुझिन।

    त्यहाँ भएको एउटा पनि परिकार परिचित लागेन। परिकारका नामहरू निकै फेन्सी सुनिन्थे र कोष्ठक भित्र सामग्रीहरूको विवरण भएतापनि खाना के हो बुझ्न खासै मद्दत गरेन । अण्डा पचाउन नसक्ने भएकोले अनुमानको भरमा खाना रोज्ने छुट मसँग छैन। एउटा गलत छनोटले पूरै दिन बिगार्न सक्छ।

    मैले वेटरसँग परिकार बारे सोध्ने विचार पनि गरेँ। टेबल मुनि चुपचाप फोनमा गूगल गर्ने पनि सोचें। तर दुवै विकल्प हार स्वीकार गरे जस्तो लाग्यो किनकी त्यहाँ अरू सबै जना सहज देखिन्थे।

    मैले मेनु बन्द गरेँ र भनें, “मलाई टोस्ट, जाम र कालो चिया ल्याइदिनुहोस्।”

    त्यस बेला मलाई सूझेको त्यो सबैभन्दा सुरक्षित विकल्प थियो र त्यो ठीक पनि रह्यो। टोस्ट तातो थियो, चिया स्वादिलो थियो। यद्यपि आफ्नो अगाडि भएको विभिन्न परिकार छानेर खाने मौकामा आफूले बच्चाले रोजे जस्तो साधारण खाना अर्डर गरेको पछुतो भयो । त्यही क्षण मलाई मैले बिताएको जीवन र त्यो रेस्टुरेन्टले आफ्ना ग्राहकहरूबाट अपेक्षा गरेको जीवन बीचको दूरी महसुस भयो।

    ऊर्जा आयोजनामा काम गर्ने हामीहरू वर्षौँसम्म क्याम्प, पहाडी जिल्ला र निर्माणस्थलहरू बीच यात्रा गर्दै बिताउँछौं। त्यसको बदलामा हामी आधुनिक सहरी जीवनको निकै सीमित अंशसँग मात्र परिचित रहन्छौँ। हामी पहाड, समुदाय, निर्माण र व्यवस्थापनका जटिलता बुझ्न सिक्छौँ तर सहरमा धेरैका लागि सामान्य लाग्ने कुराहरू हामीलाई अपरिचित नै रहन्छन्।

    मलाई त्यस्ता रेस्टुरेन्टहरू पनि अस्तित्वमा छ भन्ने अनुभवमा खुशी लाग्यो। मेरो कार्यालयले हामीलाई त्यहाँ लगेकोमा खुशी लाग्यो। हामी जस्तालाई त्यो एक राम्रो पहल थियो र नयाँ अनुभवसँगको परिचय जहिले महत्वपूर्ण हुन्छ।

    अपरिचित मेनु पढेर अन्ततः टोस्ट नै अर्डर गर्नुपरे पनि मनमा एउटा सानो नयाँ सन्तुष्टिले भरेको छ। अर्को पटक त्यही ठाउँमा पुग्दा त्यो भूगोल अलिकति कम अपरिचित हुनेछ।


1 2 3 … 5

वर्डप्रेसमा बनेको ब्लग

नेपालको ऊर्जा क्षेत्रमा काम गर्छु। मनमा गुम्सिएका कुराहरू यता व्यक्त गर्छु। प्रायः आफ्नै अनुभवहरू लेख्छु। यसमा भएको सामग्रीहरू कसैलाई चाहिएमा मलाई नसोधी कपि गर्न मज्जाले मिल्छ।