लगभगको जीत

नेपालले यो टि-२० विश्वकपमा इङ्गल्यान्डलाई लगभग हराएका थियौँ। लगभग भन्ने शब्दले नै धेरै पीडा बोकेको छ। पछिल्लो संस्करणमा दक्षिण अफ्रिका, बंगलादेश अनि अब इङ्गल्यान्ड। अन्तिम ओभरमा १० रन चाहिन्थ्यो जुन असम्भव थिएन। तर फेरि एकपटक हामी जितको ढोकासम्म पुगेर फर्कियौं।

यद्यपि यो हारभन्दा ठूलो कुरा नेपाली क्रिकेटको प्रगतिमा अब कसैले बेवास्ता गर्न सक्दैन। हाम्रा खेलाडीहरूले ब्याट, बल र फिल्डिङ तीनै क्षेत्रमा विश्वस्तरको टोलीसँग आँखामा आँखा जुधाए र पुरै संसार त्यसको साक्षी भयो।

अबको चुनौती खेलको दक्षता मात्र होइन मानसिक तागत पनि हो। महत्वपूर्ण खेलको निर्णायक क्षणमा खेल सक्ने आत्मविश्वास मजबुत पार्ने हो। त्यस्तो मजबुती नियमित रूपमा ठूला र अनुभवी टोलीहरू सँग खेल्दा मात्र आउँछ।

अहिले नतिजा प्रतिकूल आए पनि हामी समर्थकहरूले गर्व गर्ने कारण धेरै छन्। यो टोलीले फेरि प्रमाणित गर्यो कि नेपाल यस मञ्चमा सहभागी हुने केवल औपचारिकता पूरा गर्न आएको होइन। हामी यो स्तर कै टोली हौं।