हामी स्कुल पढ्दाका दिनमा नेपाली सिनियर क्रिकेट टोली खासै राम्रो थिएन। सानो लक्ष्य पछ्याउन पनि गाह्रो पर्थ्यो, त्यसैले नेपाल खेल्दा धेरै आशा हुँदैनथ्यो। यो बीच एउटा टोलीले सधैं आशा जगाइरह्यो – उमेर समुहको यू-१९ टोली। पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता क्रिकेट शक्तिहरूलाई हराएको अझै सम्झना छ। ती युवा खेलाडीहरूले नेपालमा क्रिकेटप्रतिको मोह नै बदलिदिए र हजारौं बालबालिकालाई क्रिकेटर बन्ने सपना देखाए।
आज घर आएर यू-१९ नेपाली महिला टोलीले पाकिस्तानलाई हराएको हाइलाइट्स हेर्दा फेरि त्यही भावना जाग्यो। जितपछि मैदानमै निहुरेर खुसी साट्दै गरेका ती छोरीहरू देख्दा आँखा रसाए। सायद यो नेपाली महिला क्रिकेटको नयाँ सुरुवात हो। जसरी यू-१९ केटाहरूले एक पुस्तालाई प्रेरित गरेका थिए त्यसरी नै यी छोरीहरूले पनि लाखौं नेपाली बालिकालाई ब्याट समात्ने सपना देखाउनेछन् भन्ने आशा छ।
एक समय क्रिकेट लाग्नेबित्तिकै टिभी बन्द गर्ने देश, आज नेपाल खेल्दा पुरै रंगशाला भरिन्छ। अझै धेरै काम गर्न बाँकी छ तर यस्ता जितहरूले भविष्यप्रति आशावादी बनाउँछन्।