नमस्ते! म नविन शाक्य। म पेशाले जियोलोजिस्ट हुँ। विगत १५ वर्ष भन्दा बढी समय देखि नेपालका विभिन्न हाइड्रोपावर र ट्रान्समिसन लाइन प्रोजेक्टहरूमा काम गर्दै आइरहेको छु।
मैले सुरुमा सन् २०१० तिर गुगल ब्लगरबाट यो ब्लग लेख्न थालेको थिएँ। पछि सजिलो होला भनेर टम्बलरमा सरेँ, त्यसपछि अझ धेरै फिचर्सका लागि आफैं होस्ट गर्ने वर्डप्रेस तिर लागेँ। यसरी यताउता बसाई सर्ने क्रममा केही पोस्टहरू हराए तर भाग्यवश मलाई मन पर्ने पोस्टहरू भने अझै सुरक्षित छन्।
मेरा लेखहरू र यो ब्लगको डिजाइन गम्भीर पाठकका लागि सोचेर बनाएका होइनन् है। यसमा भएका केही पोस्टहरू हिँड्दा हिँड्दै दिमागमा फ्याट्ट आएका आइडियाहरू हुन्, केही चाहिँ रिस पोखिएका कुराहरू हुन सक्छन् र केही चाहिँ दिमागबाट हट्दै नहटेका सोचहरू मात्र हुन्। यहाँ तपाईंले मेरा यात्राहरू, मेरो जागिर र पेसासँग जोडिएका कुराहरू, चाडपर्वहरूका बारेमा, अलि भिन्नै खालका मुडका कुराहरू, नेपालको राजनीति र पक्कै पनि फुटबल र म्यानचेस्टर युनाइटेडका बारेमा पोस्टहरू पाउनुहुनेछ। साथै मलाई सेयर गर्न मन लागेका अरू थुप्रै र्यान्डम कुराहरू पनि यहाँ छन्।
बोलीचालीको भाषा प्रयोग गर्न खोज्छु तर प्राय असफल हुन्छु। कहिले कहीं अंग्रेजीमा सोच्छु अनि नेपालीमा उल्था गर्छु। बोले जसरी लेख्न नेपाली भाषा सहज नहुने रैछ।
ल त, यदि तपाईंको मुड अलि र्यान्डम कुराहरू पढ्ने छ भने, यहीँ अडिनुस्! मेरा जीवनका सानोतिनो पाटा र सोचहरू सेयर गर्दै जाँदा सँगै रमाइलो गरौँला।