हामी बलिया छौं

203 words

to read

बाटाहरू अझै धुलाम्मे छन्, हिलाम्मे छन्। फुटपाथहरू भत्किएका छन्। बाढीले धेरैको दैनिक जीवन र व्यवसायमा गहिरो घाउ छोडेको छ तर विपत्ति आएको केही दिनमै बजार फेरि चलायमान भइसकेको छ, जनजीवन सामान्य तिर फर्किसकेको छ। भित्तामा फेरि रङरोगन गर्ने, कार्पेट फेर्ने अनि क्याबिनेट मर्मत गर्ने जस्ता काम पछि हुँदै जाला। अहिलेका लागि उनीहरूको ध्यान नजिकिँदै गरेका चाडपर्वको तयारीमा छ।

यति ठूलो विपत्तिका बीच पनि जीवन रोकिएको छैन।

यो घटनाले धेरैको मनमा तितोपन छोडेको छ तर सँगै उनीहरूको अठोटलाई अझ बलियो पनि बनाएको छ। कठिन समयमा राज्यले साथ नदिए पनि एकअर्कामा र आफ्नै क्षमतामा भरोसा गर्न सकिने रहेछ भन्ने विश्वास उनीहरूले अझ मजबुत बनाएका छन्। पुनर्निर्माण सरकारी पहलका कारण होइन बरु सरकारको अनुपस्थितिका बाबजुद भइरहेको छ।

बाढी पछिको पुनर्स्थापनाको यात्रामा एउटा कुरा भने स्पष्ट भएको छ: सरकारको अनुपस्थित थियो तर जनताको  थिएन। उनीहरूले आफ्नो भविष्यको जिम्मेवारी आफ्नै हातमा लिएका छन्। आफूले पाउनुपर्ने सहयोग नपाए पनि उठेर अघि बढ्ने साहस र क्षमता उनीहरूसँग छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

विपत्ति पछि सरकार सक्रिय हुन्छ भन्ने अपेक्षा गरिने संसारमा हाम्रो कथा फरक छ। जब अर्को कुनै विकल्प बाँकी रहँदैन, जनता आफैं उठ्छन्। उनीहरू फेरि निर्माण गर्छन्, परिस्थिति अनुसार आफूलाई ढाल्छन् र सबै चुनौती सहेर अघि बढ्छन्। कोही साथमा होस् वा नहोस्। आखिर लाइफ मस्ट गो अन।

– क्याटगोरी:

– मिति: