हामी स्कुलमा हुँदा एफएम रेडियो हाम्रो दैनिकीको ठूलो हिस्सा थियो। सानो ब्याट्रीबाट चल्ने रेडियो हुनु नै गर्वको कुरा लाग्थ्यो। आफ्ना गीत बजाइदिन भनेर हातैले बनाएको कार्ड रेडियो स्टेशनमा पुर्याउने, आरजेलाई फोन गर्न रिडायल बटन घोट्ने अनि आफ्नो नाम रेडियोमा सुन्ने खुसीको कुनै तुलना थिएन।
रेडियोले नै हामीलाई पहिलो पटक पश्चिमी संगीतसँग परिचित गरायो। निर्भाना, मेटालिका, इगल्स, बब मार्ले, ब्याकस्ट्रिट बोइज, बोइजोन, माइकल जाक्सन, माइकल लर्न्स टु रक, स्पाइस गर्ल्स, आदि इत्यादी… उनीहरूको पोस्टर कोठाभरि टाँसिन्थ्यो, क्यासेट किनिन्थ्यो, गीतका शब्दहरू कण्ठ पारिन्थे। त्यसैले हाम्रो पुस्ताको संगीत रुचि निर्माण गर्न रेडियोको भूमिका निकै ठूलो थियो।
आज इन्टरनेटले सबै कुरा बदलिदिएको छ। जुनसुकै गीत जुनसुकै बेला सुन्न सकिन्छ। केही समय अघि एफएम बज्ने एउटा साधारण फोन किनेँ र फेरि रेडियो सुन्न थालें। काठमाडौंमा अहिले त धेरै रेडियो स्टेशन रहेछन्, केही पुराना पनि बाँकि छन्। तर पुरानै स्टेशनका आरजेका आवाज पनि चिनिएनन्। कार्यक्रम पनि पहिलेजस्तो लागेन।
सायद रेडियो बदलिएको हो। सायद म नै त्यो दुनियाँबाट धेरै टाढा आइसकेँ।
