मैले वर्षौंसम्म Spotify का विज्ञापनहरू, सीमित स्किपहरू र फेरबदल गरिएका प्लेलिस्टहरू स्वीकार गरेर चलाएँ। हालसालै आएको फ्री भर्सनमा बदलाव पछि अब यो एप प्रयोग गर्न मिल्छ जस्तै लाग्दैन। यो प्रयोग गर्नु सजाय जस्तो लाग्न थाल्यो। मैले अनइन्स्टल गरें। यो केवल Spotify मात्र होइन। मोबाइलमा Youtube हेर्नै नसकिने भैसक्यो। इन्स्टाग्राम व्यक्तिगत ठाउँ भन्दा भीडभाड बजारमा परिणत भैसक्यो। मैले Candy Crush खेल्नै छोडेँ।
यहाँ के कुरालाई बेवास्ता गरिन्छ भने हाम्रो जस्तो देशमा सबै प्रयोगकर्ताहरूको भुक्तानी गर्ने क्षमतामा समान हुँदैनन्। म एपहरूको सेवा शुल्क तिर्न अनिच्छुक छैन तर नेपालमा विदेशी मुद्रामा भुक्तानीहरू धेरै झन्झटिला छन् र विनिमयले हुने घाटा आम्दानीको ठुलो भाग बन्छ।
एउटा मध्यमार्गी बाटो हुनुपर्छ। निशुल्कको अर्थ पहुँचयोग्य हुनुपर्छ। कम सुविधाहरू होस् तर विज्ञापनहरूबाट सेवा प्रयोग गर्दा निरन्तर झर्कोलाग्दो नहोस्।
यसबाट एउटा अनपेक्षित फाइदा भएको छ। मेरो स्क्रिन टाईम उल्लेख्य घटेको छ। अहिले म मेरी छोरीसँग धेरै समय बिताउँछु, किताबहरू पढ्छु र आफ्नै विचारहरूसँग लामो समयसम्म बस्छु।
मैले यसबीच केही कुराहरू छुटाएँ भने संसार ध्वस्त हुँदैन भन्ने बुझेको छु।
