अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्ड एक्सप्रेसवे जस्तै देखिन्छ, तर सायद हैन। किनभने हरेक दिन जुनसुकै समयमा तपाई त्यो सडक प्रयोग गर्नुहोस् तपाई देख्नुहुनेछ सामानले भरिएका ठेलागाडा धकेलिरहेका मानिसहरू, मालसामान बोकेका साइकलहरू, जथाभावी सडक काट्ने पैदल यात्रीहरू, कुदिरहेको मोटरसाइकलमा एउटा हातमा मोबाइलमा कुरा गर्दै गरेका चटकी डेरडेभिलहरू र सार्वजनिक बसहरू आफूलाई जहाँ मन लाग्यो त्यहीँ रोकेको ।
यीमध्ये कुनै पनि कुरा सुरक्षित होइन र यीमध्ये कुनै पनि मुख्य सडकमा हुनुपर्ने होइन। त्यसका लागि दुवै किनारामा सर्भिस लेन बनाइएका छन्। तर ती सर्भिस लेनहरूको अवस्था यति दयनीय छ कि तिनिहरू व्यवहारमा पार्किङ स्थलजस्तै बनेका छन्। सर्भिस लेनका धेरै खण्ड त हालसम्म बनेको छैन। यो सडक बनेको एक दशकभन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै सरकार आए र गए तर सर्भिस लेनहरू उस्तै बेवास्तामा परेका छन्।
किन यो विषय महत्वपूर्ण छ भने काठमाडौं एउटा प्राइमेट सिटी हो जुन चारैतिर साथसाथै माथितिर पनि फैलिरहेको छ, जसको आफ्नै भौगोलिक र भौगर्भिक सीमितता छ। भविष्यमा काठमाडौं फैलिएर छिमेकी जिल्लाको बनेपा र धुलिखेलसम्म पुग्छ। हुनत यी बजारहरूलाई जोड्ने सडक पूर्वाधार पनि निर्माण हुँदैछ। तर त्यो भविष्य पूर्वाधार तयार भए पनि नभए पनि आउँदैछ।
उपत्यका केवल यहाँका करिब २० लाख स्थायी बासिन्दाको मात्र घर होइन। विद्यार्थी, आप्रवासी श्रमिक, दैनिक आवतजावत गर्ने यात्रु, पर्यटक, तथा स्वास्थ्य सेवा वा प्रशासनिक कामका लागि आउने मानिसहरूलाई समेत जोड्ने हो भने उपत्यकाको वास्तविक कार्यात्मक जनसंख्या ५० लाखको हाराहारीमा पुग्छ र ती सबै मानिस यस्तै सडकहरूमा निर्भर छन्। यसको लागि पनि यो सडकको उचित व्यवस्थापन आवश्यक छ।
ठूला र महत्वाकांक्षी परियोजनाका सपना हामी देख्दै गरौला। अहिलेका लागि त हामीलाई केवल यति चाहिएको हो – बनेको भएको सडकले साँच्चिकै नै काम गरोस्।
