म पहिले हरेक तालिमका लागि नयाँ नोटबुक र रंग–रंगका हाइलाइटर बोकेर अगाडिको बेन्चमा बस्ने मान्छे थिएँ। एउटा सेसन छुट्यो भने पछि परिन्छ कि भन्ने डर लाग्थ्यो। सर्टिफिकेटहरू आपत्कालिन सामान जस्तै जम्मा गर्थें।
अहिले त्यो भर्सनको आफूलाई खासै चिन्दिनँ।
४० वसन्त पार गर्दा कक्षा कोठा शैलीको सिकाइ प्रतिको भोक बिस्तारै हरायो। केही समय त यसले मलाई चिन्तित पनि बनायो। के म रोकिएको हुँ? के म धेरै सहज भएको हुँ?पछि बुझ्दै गएँ, त्यो होइन रहेछ। सायद म अर्को चरणमा पुगेको रहेछु।
मेरो विचारमा २०-३० को सुरुवाती उमेरमा ज्ञान संकलन गर्ने समय हो। हरेक आधारभूत कोर्सले नयाँ संसार खोले जस्तो लाग्छ। शून्यबाट आफ्नो जग बनाइरहेका हुन्छौं। तर १५–२० वर्ष काम गरिसकेपछि अवस्था बदलिन्छ। अनुभवले आफ्नै एउटा “अपरेटिङ सिस्टम” बनाइ सकेको हुन्छ। दिनभरि आउने धेरैजसो समस्याहरू त्यसैले सम्हालिदिन्छ। सामान्य तालिमले दिने ज्ञान र आफूले जानेको ज्ञान बीचको दूरी बिस्तारै घटिसकेको हुन्छ।
कोठामा बसेर “यो त मलाई पहिल्यै थाहा छ” भन्ने महसुस हुनु घमन्ड होइन। त्यो आफू कहाँ आइ पुगेको छु भन्ने इमानदार बुझाइ मात्र हो।
अहिले मेरो सिकाइ धेरै छिटो र मुद्दा केन्द्रित छ। ८ घण्टा सेमिनार हलमा बसेर एउटा उपयोगी कुरा भेटिन्छ कि भनेर पर्खिनु भन्दा समस्या के हो भनेर पहिचान गर्छु, त्यसै सँग सम्बन्धित सामग्री अध्ययन गर्छु, सम्बन्धित विज्ञ कसैसँग कुरा गर्छु, समाधान निकाल्छु र अगाडि बढ्छु। जबरजस्ती गराइने समूहगत गतिविधिहरू सहने धैर्य अब लगभग शून्य भइसक्यो। केवल औपचारिक नेटवर्किङको आकर्षण अब छैन।
म बुझ्छु यदि तपाई पनि आज भोलि वर्कशप/सेमिनार/तालिमका निम्तोहरू बिना कुनै अपराधबोध अस्वीकार गर्दै हुनुहुन्छ भने। तपाई बढ्न छोड्नुभएको छैन, तपाईंले केवल सतही पानीमा पौडिन छोड्नुभएको हो।
