गत शनिबार स्वयम्भूको दर्शन गर्न जाँदा एउटा रोचक दृश्य फेरि देखेँ। भक्तजनहरू फूल, फल र पूजा सामग्री बोकेर लाइनमा थिए। अनि केही चलाक बाँदरहरू कमजोर टार्गेट रोज्थे – बच्चाहरू वा छोटो कदका मानिसहरू, प्राय महिलाहरू – ती सामग्रीहरू चोर्न। सजिलो शिकार, सजिलो फाइदा।
त्यो दृश्यले सामाजिक सञ्जालमा देखेको अर्को घटना सम्झायो। एउटी युवतीले आफूले मन पराएको राजनीतिक नेतालाई समर्थन गरेको मात्रै के भनिन्, उनलाई गिज्याउने, होच्याउने र उनको बुद्धिमत्तामाथि प्रश्न उठाउनेहरूको भीड लाग्यो।
हजारौँ वर्षको सभ्यता र प्रविधिपछि पनि हामीले एउटा बानी भने खासै छोडेका रहेनछौँ – कमजोर देखिएकामाथि जाइलाग्ने। फरक यति हो, बाँदरले फल खोस्छन्, हामी लाइक, सेयर र भाइरल हुनको लागि मानिसको सम्मान खोस्छौँ।
लोकतन्त्रमा फरक विचार हुनु स्वाभाविक हो तर त्यसकै कारण कसैलाई अपमान गर्नु बुद्धिमानी होइन। सायद विकास केवल जैविक होइन, नैतिक पनि हो र त्यो उचाइ हामीले अझै पूरा चढ्न बाँकी छ।
