npl

  • अली हतार भो

    यसपालिको एनपिएल हरेक हिसाबले अघिल्लो संस्करणभन्दा भव्य छ। कीर्तिपुर रंगशालामा पहिलो पटक क्रिकेट फ्लडलाइटमा खेलिँदैछ र अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति पनि बढेको छ। बुकिंगको लागि खोलेको टिकट केही मिनेटमै सकिनु नेपालमा क्रिकेटको लोकप्रियताको प्रमाण हो।

    एउटा निर्णय भने चित्त बुझेन। यसपालिको लाइभ स्ट्रिमिङ हेर्न शुल्क चाहिने बनाइयो। समस्या शुल्क होइन, पहुँच हो। हामी जस्ता अफिस जाने मानिसका लागि खेल हेर्ने मुख्य माध्यम नै अनलाइन हो। तर खेल अफिस समयमा हुन्छ। पैसा तिरेर पनि पूरा खेल हेर्न नपाइने भएपछि धेरैले पैसा तिरेन।

    गत वर्ष एनपिएल जता गए पनि देखिन्थ्यो। चिया पसल, रेस्टुरेन्ट, बस पार्क, अफिसको लञ्च टाइममा कतै न कतै, कसै न् कसैको मोबाइलमा खेल चलिरहेको हुन्थ्यो। क्रिकेट सबैको साझा गफ बनेको थियो। यसपालि त्यो माहोल हराएको जस्तो लाग्छ। न सार्वजनिक ठाउँमा कसैले खेल हेरेको देखिन्छ न अफिसमा त्यसको चर्चा सुनिन्छ। यही कारणले ठूला खेल प्रतियोगिताहरू धेरै देशमा अझै पनि निःशुल्क प्रसारण गरिन्छ। धेरै मानिसले सँगै हेर्दा मात्रै खेल संस्कृति बन्छ, नयाँ समर्थक थपिन्छन् र समुदाय बलियो हुन्छ।

    त्यसैले एनपिएल लाई अहिले नै पेवालभित्र राख्नु अलि हतारको निर्णय जस्तो लाग्छ। यत्रो प्रतियोगिता आयोजना गर्न आयोजकलाई आम्दानी चाहिन्छ जुन स्वाभाविक हो। तर नेपाली क्रिकेट अझै विस्तारको चरणमा छ। अहिलेको प्राथमिकता बढीभन्दा बढी दर्शक बनाउनु हुनुपर्थ्यो। राम्रो रंगशाला र विदेशी खेलाडीले मात्र खेल ठूलो हुँदैन। खेल ठूलो तब हुन्छ जब धेरै मानिसले आफूलाई त्यसको हिस्सा भएको महसुस गर्छन्।