politics

  • हामी सचेत नागरिक

    सामाजिक सञ्जालले राजनीतिक नेताहरूलाई आलोचना भन्दा माथि राखिएका व्यक्तित्वमा रूपान्तरण गर्ने प्रवृत्ति बढाएको छ। यो पहिले पनि भएको थियो, अहिले पनि भइरहेको छ। उनीहरूले लिएको हरेक निर्णयको बचाउ गरिन्छ, हरेक गल्तीको औचित्य खोजिन्छ अनि हरेक आलोचनालाई शत्रुताको रूपमा व्याख्या गरिन्छ।

    जब निष्ठाले विवेकलाई विस्थापित गर्छ, लोकतन्त्र कमजोर हुन थाल्छ।

    अन्धो समर्थनले इमानदार बहसको ढोका बन्द गर्छ। यसले सत्तालाई जवाफदेही बनाउने संस्कृतिलाई कमजोर बनाउँछ। अझ चिन्ताजनक कुरा के हो भने संवेदनशील विषयहरूमा समेत मानिसहरू सहानुभूति, तथ्य र सामान्य विवेक भन्दा आफ्नो नेतालाई कसरी बचाउने भन्ने सोचमा केन्द्रित हुन थाल्छन्। देशका लागि यो सही निर्णय हो कि होइन भन्ने प्रश्न हराउँछ र त्यसको ठाउँमा मेरो नेतालाई/मेरो पार्टीलाई कसरी बचाउने भन्ने प्रश्न आउँछ।

    यो परिवर्तन सबैभन्दा खतरनाक हो।

    कुनै राजनीतिक दललाई समर्थन गर्नु भनेको आफ्नो आलोचनात्मक सोच त्याग्नु होइन। त्यसैगरी सरकारको आलोचना गर्नु भनेको कसैलाई राष्ट्र विरोधी वा राजनीतिक रूपमा पूर्वाग्रही बनाउँदैन। राजनीतिक दल समाज कस्तो हुनुपर्छ भन्ने एउटा समूहको साझा दृष्टिकोणमा आधारित हुन्छ। तपाईं एउटा दृष्टिकोणमा विश्वास गर्नुहुन्छ, मेरो अर्कै होला। त्यसैले राजनीतिक दल तपाईंको हुन सक्छ, मेरो हुन सक्छ। तर देशको सरकार कसैको निजी हुँदैन। लोकतन्त्रको सुन्दरता नै यही हो कि नागरिकहरूले सत्तामा रहेकाहरूलाई प्रश्न गर्न, आलोचना गर्न र जवाफ माग्न पाउँछन्।

    परिपक्व लोकतन्त्रलाई अन्धभक्त होइन, सचेत र सूचित नागरिक चाहिन्छ।

    नेताहरू आउँछन् र जान्छन्। सरकारहरू बदलिन्छन्। राजनीतिक उतार चढाव भइरहन्छ। तर देश भने स्थायी हुन्छ। त्यसैले हाम्रो निष्ठा पदमा बसेका व्यक्ति प्रति होइन, देश तथा जनताको दीर्घकालीन हित प्रति हुनुपर्छ।

    अब हामी सँग अन्धो समर्थनलाई स्वीकार गर्ने समय छैन।