पोर्ट बिग्रिएर चार्ज नहुने अवस्थामा पुगेपछि नयाँ फोन लिने निर्णय लिएँ। यस पाली एक लाख सम्मको राम्रो क्यामेरा अनि अरू फीचर्स भएको फोन लिने भए। नयाँ ग्याजेट्स र प्रविधि बारे त्यति धेरै जानकारी नभएकोले सुरुमा नयाँ फोन किन्दा के-के हेर्ने गूगल गरेर शर्तलिस्ट तयार पारे। स्न्यापड्रागन् ८ जेन ठूलो नम्बर, डिडिआर ठूलो नम्बर, युएफएस ठूलो नम्बर, एमोलेड, टेलिफोटो जस्ता गाह्रो-गाह्रो शब्द याद गरे। आफूले आफैलाई एजुकेट गरें। दुई-चार वटा भिडियो पनि हेरें। फोनको मोडेलहरूको पनि लिस्ट बनाए। अनि फोनको मूल्य देखाउने वेबसाइट तिर गए।
अचम्म, एक लाख रुपैयाँमा मैले याद गरेका प्राविधिक शब्द मिल्ने एउटै फोन फेला परेन। त्यसको लागि कम्तीमा अर्को ५० हजार खर्चिनू पर्ने रैछ। एक लाखमा त मात्र मिड-रेञ्ज भन्ने फोन आउने रैछ। मिड-रेञ्ज नामैले मध्यम वर्ग। कुनैमा क्यामेरा राम्रो भए अरू फीचर्स नराम्रो, शर्तलिस्टमा भएको धेरै कुरा टिक नहुने। मलाई लाग्थ्यो एक लाख भनेको थुप्रो पैसा हो। आई वाज लिभिङ अन्डर अ रक।
साथीहरूले सुझाए कि अनलाइन हेरेर हुन्न, अफलाइन बार्गेन गरेर किन्ने। कुरा सही हो। यही बहनामा फोन छोएर, चलाएर हेर्न पाइने। पसलमा टार्गेट पुर्याउनु पर्ने भएकोले थोरै बढी डिस्काउन्ट दिने रैछ। तैपनी चित्त बुझ्ने फोन मेरो पहुँच भन्दा बाहिर थियो। पसले बहिनीले नागरिकता दियो भने फोन किस्तामा पाइने अप्सन दिए। फूल क्यास दिने र भ्याट बिल नलिने भए थप एक्स्ट्रा डिस्काउन्ट को अप्सन पनि दिए। दिक्क लाग्यो, इरिटेट भए। एक लाख बजेट हुँदा पनि मेरो लागि राम्रो फोन बजारमा थिएन। अनि फर्किए।
घर छेउको मर्मत गर्ने ठाउँमा आफ्नो पुरानो फोन देखाए। पोर्ट फेर्न १२०० रुपैयाँ लाग्ने भयो। मलाई थाहा छ एकचोटी कुनै पार्ट फेरेपछि फोन टिक्दैन। तर म सँग अरू अप्सन छैन। जति टिक्छ, पुरानै फोन चलाउने।