कालिकोटमा फिल्डवर्कको क्रममा उभीरहेकी एक महिला सहकर्मीलाई आफू बसेको कुर्सी दिँदा मलाई एउटा अनपेक्षित कुरा भनिन्। उनले महिलालाई आफ्नो सिट नछोड्न आग्रह गरिन र त्यसो गर्दा उनलाई पुरुष महिलाभन्दा माथि भएको जस्तो महसुस हुन्छ। उनको कुरा सुनेर म केही क्षण अचम्ममा परेँ। मैले केवल “हुन्छ” भनेँ। मैले कहिल्यै कसैलाई आफ्नो सिट छोडेको उनीहरू म भन्दा कमजोर वा कम भएकोले होइन। मेरो लागि त्यो सधैं सम्मान प्रकट गर्ने एउटा सानो व्यवहार मात्र हो। हामी हुर्कँदै गर्दा महिलाहरू, बच्चाहरू र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर सिकाइयो। उनीहरू बढी सहजताको र सम्मानजनक व्यवहारको हकदार छन्। म अहिले पनि प्राय सार्वजनिक बसमै यात्रा गर्छु र सकेसम्म महिला, बच्चा तथा बूढाबूढीहरूलाई आफ्नो सिट छोड्ने गर्छु। उनीहरूको मुहारमा मुस्कान देख्नु र धन्यवाद सुन्नुमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। यस्तो सानो व्यवहारले उनीहरूको सहजताको ख्याल मात्र होइन, मेरो दिन पनि उज्यालो बनाइदिन्छ।
-
काठमाडौं र कालिकोट
मेरा आमा बा केही दिन अघि पश्चिम नेपालको केही पहाडी जिल्ला पुगेर फर्कनुभयो। उहाँहरूले त्यहाँ विद्यालय जानका लागि साना बच्चाहरू साँघुरा र जोखिमपूर्ण सडक किनार हुँदै दिनहुँ हिँड्न बाध्य भएको दृश्य देखेर निकै दुखी हुनुभयो।
घर फर्किएपछि बुबाले भन्नुभयो, “यसको तुलनामा त काठमाडौं स्वर्ग जस्तै रहेछ।”
म पनि त्यही समय कालिकोटमा सञ्चालित एउटा प्रोजेक्टको फिल्डवर्क सकेर फर्केको थिएँ।
कालिकोटबाट सुर्खेत फर्कने क्रममा एक सहकर्मीले निकै भावुक हुँदै भनिन्, “कालिकोट नै वास्तविक नेपाल हो।“
उनको त्यो भनाइसँग म पूर्ण रूपमा सहमत भएँ।
कालिकोट यति दुर्गम जिल्ला हो कि हाम्रो प्रोजेक्टसम्म पुग्न सडकबाट कम्तीमा दुई दिन पैदल हिँड्नु पर्थ्यो। खाद्यान्न अभाव त्यहाँको दैनिक यथार्थ हो। शिक्षाको अवस्था पनि अत्यन्त कमजोर छ, उच्च शिक्षा पूरा गर्नेहरू निकै थोरै छन्। स्वास्थ्य सेवा अत्यन्त कमजोर छ। धेरै ठाउँमा न बिजुली छ न सुरक्षित खानेपानी। हामी फिल्डमा काम गर्नेहरूले समेत खुला ठाउँमै दिसा गर्नुपर्ने अवस्था थियो। कहिलेकाहीँ त्यो अनुभव रमाइलो लागे पनि धेरैजसो समय असहज महसुस हुन्थ्यो। सम्भावना हुँदाहुँदै पनि त्यो क्षेत्र अझै आधारभूत विकासको प्रतीक्षामा छ।
यता काठमाडौं भने अर्कै संसार जस्तो लाग्छ। सबै सुविधा यहीँ केन्द्रित भएकाले सबैको चाहना यहीँ बस्ने हुन्छ। हामीले काम गरेको संस्था पनि सुरुमा जुम्लामा दर्ता भएको थियो तर पछि आफ्नो मुख्य कार्यालय ललितपुर सार्यो। यसले पनि अवसर र स्रोतहरू कसरी काठमाडौं उपत्यकातर्फ केन्द्रित हुँदै गएका छन् भन्ने देखाउँछ।
त्यसैले काठमाडौं नेपालको राजधानी त हो तर यसले सम्पूर्ण नेपालको वास्तविक चित्र प्रस्तुत गर्दैन। मेरी सहकर्मीको “कालिकोट नै वास्तविक नेपाल हो” भन्ने भनाइले यही यथार्थलाई उजागर गर्छ।
यति भन्दै गर्दा पनि दुई ठाउँको एउटा समानता छ। मानसिकता, अवसर र जीवनशैलीमा फरक भए पनि दुवैतिरका मानिसहरू राम्रो जीवन, शिक्षा, स्वास्थ्य र सम्मानजनक भविष्यकै खोजीमा छन्।
सायद मैले भन्न खोजेको कुरा तपाईंले बुझ्नुभयो होला।
-
निराशाजनक हार
घर छेउको टोली थ्री स्टार क्लब भारतमा भएको प्रतियोगितामा १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। के कारणले हो कुन्नि आयोजकहरूले त्यो खेल पुनः खेल्नुपर्ने निर्णय गर्यो। क्लबले पनि त्यो निर्णय स्वीकार गर्यो। पुनः खेलिएको खेलमा भने टोली पराजित भयो।
मैले फुटबलको माथिल्लो स्तरको प्रतियोगितामा यसरी खेल पुनः खेलाइएको घटना सुनेको थिइनँ। विश्वकप २०१० छनोटको फ्रान्स–आयरल्यान्ड प्लेअफमा भएको चर्चित “हेन्ड अफ हेनरी” घटनापछि सबैले र स्वयं थियरी हेनरीले समेत पुनः खेलको माग गरेका थिए। त्यति बेला पनि खेल दोहोरिएन। फुटबलमा एक पटक खेल सकिएपछि त्यसको नतिजा नै अन्तिम मानिन्छ र यही सिद्धान्तले खेलको विश्वसनीयता कायम राखेको हुन्छ।
यही कारणले थ्री स्टार क्लबले पुनः खेल्न सहमत भएको कुरा साह्रै निराशाजनक लाग्यो। यस्तो अपमानजनक निर्णय स्वीकार गर्नुको सट्टा प्रतियोगिताबाट त्यति खेर बाहिरिनु नै उचित हुन्थ्यो भन्ने मेरो विचार हो। भारतीय आयोजकहरूको दबाबअघि क्लब झुकेको दुःखद छ।