Skip to content

नविन शाक्य

  • धन्यवाद, पलेशा!

    September 5, 2024

    पलेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्समा कांस्य पदक जितेर इतिहास रचिन्। यो ओलम्पिक स्तरको प्रतियोगितामा नेपालले जितेको पहिलो पदक हो र अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली खेलाडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता।

    आज उनको नाम घरदेखि चियापसलसम्म, कार्यालयदेखि बसपार्कसम्म सबैको मुखमा छ। यो केवल एउटा पदक होइन, सिंगो देशले अनुभव गरेको गर्वको क्षण हो।

    नेपालको विविधताले गर्दा हामी धेरै अवसरमा विभाजित हुन्छौं तर खेलकुदले ती सबै सीमाना मेटाइदिन्छ। क्रिकेट होस्, भलिबल होस् वा प्यारा खेल – जब नेपाल जित्छ, हामी सबै एउटै टोलीका समर्थक बन्छौँ।

    धन्यवाद, पलेशा। तपाईंले केवल पदक जित्नुभएन, नेपाललाई इतिहास र एउटै खुसी बाँड्ने अवसर पनि दिनुभयो।


  • विपदमा आत्मीयता

    August 1, 2024

    नदी अस्वाभाविक रूपमा बस्तीहरूतर्फ बगेको हो कि हामीले नै बाढी आउने क्षेत्रमै घरहरू बनाएका हौँ भन्ने विषयमा बहस गर्न सकिन्छ र त्यो बहस आवश्यक पनि छ।

    यद्यपि हाल त्यसमा केन्द्रित हुने समय होइन। दोषारोपण गर्नुको सट्टा हामी एकजुट हुनुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ र विपत्तिबाट प्रभावित भएकाहरूलाई सहयोग गर्नुपर्छ। धेरै मानिसहरूले ठूलो क्षति र कठिनाइ भोगिरहेका छन्, त्यसैले यो समय एकता र सहानुभूतिको हो। यस कठिन घडीमा सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सहयोग, साथ र प्रार्थना गरौँ।

    यस्ता समयमा के गल्ती भयो वा किन भयो भन्ने बहसमा अल्झिन सजिलो छ तर अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेको आवश्यकतामा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ र सबैको सुरक्षा तथा हित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायका रूपमा एकजुट भएर एकअर्काको साथमा उभिनु हो।


  • बजेट ग्याजेट

    July 7, 2024

    हालै नेपालमा JBL ले ‘Go4’ नामको सानो ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय युट्युब टेक रिभ्युवरहरूले यसलाई राम्रो ‘बजेट’ स्पिकर भनेका छन् र नेपाली रिभ्युवरहरू पनि यसलाई ‘बजेट’ स्पिकर भनेरै प्रस्तुत गरेका छन्।

    अमेरिकामा प्रति व्यक्ति आय ३५ हजार अमेरिकी डलर भन्दा बढी छ भने नेपालमा करिब १,५०० डलर मात्र। अमेरिकामा ६० डलरको ग्याजेट ‘बजेट’ होला तर नेपालमा पनि त्यही शब्द जस्ताको तस्तै प्रयोग गर्नु कति उपयुक्त होला? यसले धेरै टेक रिभ्युवरहरूले देश अनुसारको आर्थिक वास्तविकता नबुझी बाहिरको रिभ्यु र चल्तीका शब्दहरू मात्रै दोहोर्याइरहेको जस्तो देखाउँछ।

    वा, सायद वास्तविकता नै भिन्नै छ। हुन सक्छ नेपालमा पनि मानिसहरूले यस्ता महँगा ग्याजेट सहजै किनिरहेका छन्, हाम्रो खर्च गर्ने शक्ति निकै बढिसकेको छ। अनि यस्ता महँगा सामानमा खर्च गर्न नसक्ने मान्छे म मात्रै हुँ। आज पनि २० हजार रुपैयाँको मोबाइल किन्न मैले २० वटा रिभ्यु भिडियो हेरेको सम्झना ताजै छ। अहिले पनि त्यही फोन नै मेरो मुख्य फोन हो।


  • फियर अफ फिनिश लाइन

    June 17, 2024

    म मोबाइल एपको सहायताले कहिलेकाहीँ योग आसनहरूको अभ्यास गर्छु। एपले प्रत्येक आसनका लागि टाइमर चलाउँछ। प्ल्याङ्क, लो बोट जस्ता केही आसनमा भने एउटा अनौठो कुराको अनुभव हुन्छ। एपले ‘आधा समय बाँकि’ भनेपछि मन आत्तिन थाल्छ। शरीर भन्दा पहिले दिमाग थाक्छ। बाँकी समय कसरी कटाउने भन्ने चिन्ताले आसन अझ कठिन लाग्न थाल्छ र धेरै पटक अन्त्यसम्म पुग्नुअघि नै हार मान्छु। समस्या आसनको भन्दा पनि अन्त्यसम्म टिक्न नसक्ने डरको जस्तो लाग्छ।

    केही दिन अघि टी–२० विश्वकपमा नेपालको दक्षिण अफ्रिकासँग खेल थियो। खेल सुरु हुनु अघि दक्षिण अफ्रिकालाई हराउने कल्पना पनि हामी धेरैले गरेका थिएनौं। त्यस खेलमा नेपालले उनीहरूलाई सानो स्कोरमै रोकेको थियो र त्यसपछि जित्ने अपेक्षा एकाएक चुलियो। एक समयमा त विन प्रेडिक्टरले नेपालको जित्ने सम्भावना ९५ प्रतिशत देखाइरहेको थियो। तर अन्तिम क्षणमा हामी केवल एक रनले हार्यौं। इतिहास रच्ने अवसर आँखै अगाडि आएर पनि अन्तिम रेखा पार गर्न सकेनौं।

    माथिका दुइटा कुरा नितान्त फरक हुन् तर एउटा अफ्ठ्यारो समानता देखिन्छ। कहिलेकाहीँ सबै भन्दा कठिन कुरा सुरुवात गर्नु होइन, अन्तिममा केही कदम बाँकी हुँदा त्यसलाई पूरा गर्ने मानसिक दबाब सहनु हो। जित नजिकिँदै जाँदा हारको डर पनि त्यत्तिकै ठूलो हुँदै जान्छ। योगको आसन होस् वा क्रिकेटको लक्ष्य, कहिलेकाहीँ प्रतिद्वन्द्वी हाम्रो क्षमता वा विपक्षी टोली होइन, अन्तिम रेखा देखे पछि अस्थिर हुने आफ्नै मन हुन्छ।


  • ह्याप्पी रेडियो डे!

    February 13, 2024

    हामी स्कुलमा हुँदा एफएम रेडियो हाम्रो दैनिकीको ठूलो हिस्सा थियो। सानो ब्याट्रीबाट चल्ने रेडियो हुनु नै गर्वको कुरा लाग्थ्यो। आफ्ना गीत बजाइदिन भनेर हातैले बनाएको कार्ड रेडियो स्टेशनमा पुर्‍याउने, आरजेलाई फोन गर्न रिडायल बटन घोट्ने अनि आफ्नो नाम रेडियोमा सुन्ने खुसीको कुनै तुलना थिएन।

    रेडियोले नै हामीलाई पहिलो पटक पश्चिमी संगीतसँग परिचित गरायो। निर्भाना, मेटालिका, इगल्स, बब मार्ले, ब्याकस्ट्रिट बोइज, बोइजोन,  माइकल जाक्सन, माइकल लर्न्स टु  रक, स्पाइस गर्ल्स, आदि इत्यादी… उनीहरूको पोस्टर कोठाभरि टाँसिन्थ्यो, क्यासेट किनिन्थ्यो, गीतका शब्दहरू  कण्ठ पारिन्थे। त्यसैले हाम्रो पुस्ताको संगीत रुचि निर्माण गर्न रेडियोको भूमिका निकै ठूलो थियो।

    आज इन्टरनेटले सबै कुरा बदलिदिएको छ। जुनसुकै गीत जुनसुकै बेला सुन्न सकिन्छ। केही समय अघि एफएम बज्ने एउटा साधारण फोन किनेँ र फेरि रेडियो सुन्न थालें। काठमाडौंमा अहिले त धेरै रेडियो स्टेशन रहेछन्, केही पुराना पनि बाँकि छन्। तर पुरानै स्टेशनका आरजेका आवाज पनि चिनिएनन्। कार्यक्रम पनि पहिलेजस्तो लागेन।

    सायद रेडियो बदलिएको हो। सायद म नै त्यो दुनियाँबाट धेरै टाढा आइसकेँ।


  • किताब पढ्ने बानी

    January 6, 2024

    हामी आजकल फुर्सदको समय टिभी, भिडियो गेम वा सामाजिक सञ्जालमै बिताउन खोज्छौं। किताब पढ्ने बानी भने बिस्तारै हराउँदै गएको जस्तो लाग्छ। यसको एउटा ठूलो कारण किताबको मूल्य पनि हो। धेरैका लागि किताब किन्न सजिलो छैन र सार्वजनिक पुस्तकालय पनि पर्याप्त छैनन्। त्यसैले किताब किनेरै पढ्ने धेरैका लागि आवश्यकता होइन विलासीता जस्तो देखिन्छ। जब घरमै पढ्ने संस्कार हुँदैन नयाँ पुस्ताले पनि त्यो बानी सिक्दैन।

    अहिले एउटा सकारात्मक परिवर्तन देखिन्छ। विशेषगरी काठमाडौंमा अनलाइनमार्फत केही सय रुपैयाँमै लोकप्रिय पुस्तकका किफायती (काउन्टरफिट) संस्करणहरू पाइन्छन्। सबैले मूल संस्करण (प्राय महँगो) किन्न सक्दैनन् तर सस्तो पुस्तकले पनि पढ्ने बानी बसाल्न सक्छ भने त्यो आफैँमा ठूलो कुरा हो।

    डिजिटल विचलनले भरिएको समयमा किताब पढ्ने बानी झन् महत्त्वपूर्ण बनेको छ। ज्ञान र कल्पनाशक्ति बढाउने सबैभन्दा सस्तो लगानीमध्ये एउटा अझै पनि किताब नै हो।


  • बधाई छ एरिका

    October 8, 2023

    चीनमा भएको एसियाली खेलकुदमा एरिका गुरुङले कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छन्। यस संस्करणमा यो नेपालको दोस्रो पदक हो। यस अघि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यो एसियाली खेलकुदको इतिहासमा नेपालको तेस्रो रजत पदक पनि हो। हामीले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेका छैन।

    तीन करोड जनसंख्या भएको देश भए पनि अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको उपलब्धि निकै सीमित छ। क्रिकेट र मार्सल आर्ट्स जस्ता केही खेलमा मिश्रित सफलता मिले पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको समग्र प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन।

    पर्याप्त प्रशिक्षण पूर्वाधार, आधुनिक उपकरण र दक्ष प्रशिक्षकको अभाव जस्ता चुनौतीका बाबजुद पनि नेपाली खेलाडीहरूले निरन्तर देशको शिर उच्च बनाइरहेका छन्।

    एरिका गुरुङ र नेपाली महिला कबड्डी टोलीलाई हार्दिक बधाई। हामी तपाईंहरूमा गर्व गर्छौं।


  • नेपाली फिल्म? नाई

    March 8, 2023

    एक समय थियो म नेपाली फिल्मको नियमित दर्शक थिएँ। २०१० को दशकको सुरुवाततिर कथा, अभिनय, संगीत र प्रविधिमा नेपाली सिनेमाले ठूलो फड्को मारेको थियो। लुट, टलकजंग भर्सेस टुल्के, जात्रा, कबड्डी, साँघुरो जस्ता फिल्महरूले हल भरिभराउ हुन्थे र म पनि महिनामा कम्तीमा एउटा नेपाली फिल्म छुटाउँदिनथेँ। हामीले नहेरेर कसले हेर्छ त भन्ने भावना थियो।

    तर बिस्तारै धेरै कलाकार र निर्माताले दर्शकलाई हल्का लिन थाले। लगातार निराशाजनक फिल्महरू आए। केही फिल्म त यति कमजोर थिए कि डर लाग्नुपर्ने दृश्यमा हलभरि हाँसो गुञ्जिन्थ्यो। त्यसपछि मैले नेपाली फिल्म हेर्नै छोडेँ।

    कोभिडपछि त हल जानु पनि लगभग बन्द भयो। अहिले धेरै नेपाली फिल्म तीन दिन टिक्न नसकेको खबर सुनिन्छ। साथीहरू फेरि नयाँ छक्का पन्जा हेर्न जाऔँ भन्छन् तर मसँग पहिलेको जस्तो उत्साह छैन।

    सायद यस बीच केही उत्कृष्ट नेपाली फिल्म छुटे तर निराशाको त्यो लामो श्रृंखलाले मलाई अझैसम्म हल फर्किन मन लाग्न दिएको छैन।


  • भासिएका मूर्तिहरू

    June 29, 2022

    जब तपाईं मन्दिरहरूको यो पुरानो सहरको वरिपरि घुम्नुहुन्छ, तपाईंले त्यस्ता मूर्तिहरू भेट्टाउनुहुन्छ जुन जमिनको सतहभन्दा तल डुबेको जस्तो देखिन्छ मानौं तिनीहरू बिस्तारै पृथ्वीले निलेको छ। यी धसिएका संरचनाहरूले मलाई सधैं आकर्षित गरेका छन् र तिनीहरू किन त्यस्ता भए होलान् भनेर म अचम्ममा पर्ने गरेको छु। अहिलेसम्म मैले यसको कुनै स्पष्ट जवाफ त पाएको छैन तर केही रोचक धारणाहरू भने छन्।

    एउटा लोकप्रिय मान्यता के छ भने यी मूर्तिहरू श्रापित हुन्। स्थानीय किंवदन्तीहरूका अनुसार, सजायको रूपमा यी मूर्तिहरू जमिनभित्र धसिएका हुन् र तिनिहरूको प्रायश्चितको अवधि सकिएपछि मात्र तिनिहरू पुनः माथि आउनेछन्। हामी सबै यस्ता कथाहरू सुनेर हुर्किएका छौँ जहाँ शक्तिशाली देवदेवताहरूले समेत आफ्ना गल्तीहरूको परिणाम भोग्नुपर्छ र सायद यी धसिएका मूर्तिहरू पनि त्यही कथाकै एउटा हिस्सा हुन्।

    त्यस्तै, अर्को एउटा अझ प्राविधिक दृष्टिकोण पनि छ। मूर्ति स्थापना गर्नु एक संवेदनशील र अत्यधिक धार्मिक विधि हो जसमा कहिलेकाहीँ ब्रह्माण्डीय तत्वहरूसँगको तादात्म्यता पनि जोडिएको हुन्छ। यो सम्भव छ कि निश्चित धार्मिक वा आध्यात्मिक आवश्यकताहरू पूरा गर्न यी मूर्तिहरूलाई विशेष उचाइ वा स्थानमा राखिएको थियो। समयक्रमसँगै, यही तादात्म्यता मिलाउने क्रममा यी मूर्तिहरू सरेका वा धसिएका हुन सक्छन्, यद्यपि यो व्याख्या अलि बढी अनुमानित छ।

    भूकम्प वा प्राकृतिक प्रकोपकै कारण यी मूर्तिहरू धसिएका हुन् भन्ने कुरामा भने म विश्वास गर्दिनँ। यो क्षेत्र भूकम्पीय जोखिममा रहेको कुरा सत्य भए तापनि मलाई लाग्छ कि यस कथाको पछाडि केवल एक भौतिक कारण मात्र नभएर अझ धेरै कुरा लुकेको छ।

    यदि तपाईंलाई यस बारे थप जानकारी छ वा कुनै फरक धारणा छ भने, म त्यो सुन्न चाहन्छु! यो त्यस्ता रहस्यहरू मध्ये एक हो जसले मलाई सधैं यसैतर्फ आकर्षित गरिरहन्छ, र म यसको वास्तविकता जान्न उत्सुक छु।


  • नरमाइलो दशैं डिनर

    October 12, 2021

    ललितपुरको पुल्चोक स्थित अचार घर विभिन्न प्रकारका अचारहरू पाइनू का कारण मेरो मनपर्ने थकाली रेस्टुरेन्ट मध्ये एक हो। त्यसैले दशैं बिदा सुरु हुनुअघि सपरिवार त्यहीँ डिनर गराउन लगेँ। सबै कुरा सामान्य थियो। हामीले सधैं झैं थकाली सेट अर्डर गर्‍यौं। तर खाना टेबलमा आएपछि वेटरले दशैं बिदाका कारण धेरै अचारका प्रकारहरू उपलब्ध नभएको बताए।

    खाना अगाडि आएपछि यस्तो कुरा सुन्नु भन्दा निराशाजनक अरू के हुन सक्छ? मलाई निकै रिस उठ्यो। कम्तीमा अर्डर लिनु अघि नै यो जानकारी दिएको भए हामी अरु चीज नै अर्डर गर्थ्यौं होला तर त्यसो गरेनन्। अन्तमा पूरा मूल्य भने लिए तर हामी त्यहीँ रेस्टुरेन्ट जानुको मुख्य कारण भएका परिकार नै दिएनन्।

    दशैं जस्तो लामो बिदा अघि वा पछि कर्मचारी कम हुँदा सेवा सीमित हुनु स्वाभाविक हो। त्यस्तो अवस्था मेनुमा स्पष्ट उल्लेख हुनुपर्थ्यो वा अर्डर गर्नुअघि ग्राहकलाई जानकारी दिनुपर्थ्यो।

    हामी रेस्टुरेन्टमा परिवार र साथीभाइसँग राम्रो समय बिताउन जान्छौं। यस्ता अनुभवले त्यो रमाइलो नै बिगारिदिन्छ। 

    कम्तीमा म भने अब फेरि त्यो रेस्टुरेन्टमा फर्किने छैन।


1 2 3 4 5

वर्डप्रेसमा बनेको ब्लग

नेपालको ऊर्जा क्षेत्रमा काम गर्छु। मनमा गुम्सिएका कुराहरू यता व्यक्त गर्छु। प्रायः आफ्नै अनुभवहरू लेख्छु। यसमा भएको सामग्रीहरू कसैलाई चाहिएमा मलाई नसोधी कपि गर्न मज्जाले मिल्छ।